महामन्त्री शर्माले केही दिनअघि सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको स्वागत गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्ने र पूर्वप्रधानमन्त्री डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा नेताहरूले ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन लाज नमान्ने भनी टिप्पणी गरेका थिए।
ढिलै भए पनि डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई नदिने, आफैं बनाउने भनेर सरकारले गरेको निर्णयप्रति खुसी व्यक्त गरेका हुन्, तर सामाजिक सञ्जालमा सवालजवाफ गर्न अघि सरिहाल्ने उनी कांग्रेस महामन्त्री शर्माको प्रश्नबारे मौन बसेका हुन्।
‘ढिलै भए पनि बूढीगण्डकी परियोजना नेपाल आफैंले बनाउने निर्णय हुनु सुखद छ’, डा. भट्टराईले लेखेका छन्, ‘तर हामीले सुरुदेखि भन्दै आएको कुरा बुझ्न किन ढिलो भएको हो बुझिनसक्नु छ। अनि कुन मोडालिटीमा बनाउनेबारे मौनता कहिले तोडिने हो? यो बहुउद्देशीय परियोजनालाई बृहत् बूढीगण्डकी विकास प्रधिकरणमार्फत बनाऊँ, नत्र गफै रहला।’