यो निर्णयले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आक्रोशित भएको छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुखसमेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले अर्थमन्त्री बर्खास्त गर्नुपर्नेमा गभर्नरलाई निलम्बन गरिएको भन्दै आक्रोश पोखेका हुन्।
यो निर्णयलाई उनले ‘टाउको दुखेको औषधी, नाइटोमा’ लगाइएको भनी कटाक्ष गरेका छन्। ‘तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको छ’, रिजालले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘यसले मुलुकलाई द्रुततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन। अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न सक्दैन।’