गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी निलम ढुंगानालाई


काठमाडाैं – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको पुष्टि गरे ।

पूर्ववर्ती केपी ओली सरकारले २०७६ चैत्र २७ गते अधिकारीलाई गर्भनर नियुक्त गरेको थियो । कार्यकाल सकिनु अगावै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मासँग उनको खटपट परेको थियो । सरकारलाई सहयोग नगरेकोले उनलाई हटाउने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए । गभर्नर अधिकारीले भने निलम्बर भएको र छानविन समिति भएको अनौपचारिक जानकारी आएपनि औपचारिक पत्र भने नपाएको बताए ।

अधिकारी र मन्त्री शर्मा शुक्रबार दिउँसो एउटै कार्यक्रममा भएकोले कुनै संकेत पनि नहुँदा आफूले बाहिर हल्ला भएपनि मात्रै जानकारी पाएको प्रतिकृया दिएका छन् ।

गभर्नरमाथि छानविन गर्न नेपाल राष्ट्र बैंक ऐन अनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । छानविन समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् । समितिले प्रतिवेदन बुझाउने समय १ महिना दिइएको छ ।

प्रतिक्रिया