थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


काठमाडाैं – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।

सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिए ।

समारोहमा नगर प्रमुख घनश्याम गिरीले कोरोना महामारीका समयमा नगरपालिकाले एम्बुलेन्स खरिद गरेर नगरवासीलाई निःशुल्क सेवा प्रदान गरेको जानकारी दिए । उनले भने, ‘हस्तान्तरित एम्बुलेन्सले पनि वडाका साथै सम्पूर्ण नगरवासीलाई छिटो छरितो सेवा प्रदान गर्न सहयोग पुर्‍याउने छ ।’

नगर प्रमुख गिरीले चन्द्रागिरि–८ स्थित मातातीर्थमा नवनिर्मित आयुर्वेद औषधालय भवनको शुभारम्भ गरे । यससँगै नगरपालिकाले वडा नम्बर ६, ८, १२ मा पनि आयुर्वेदिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले आयुर्वेदसम्बन्धी उत्पादन र बजारीकरण कार्यमा पनि सहयोग गर्ने जनाएको छ ।

नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, विपद् व्यवस्थापन, खेलकूदलगायतका संरचनागत विकासका क्षेत्रमा फड्को मार्न सफल भएको जनाएको छ ।

 

प्रतिक्रिया