सशस्त्रमा उत्तीर्ण ५ महिला इन्स्पेक्टरः ‘कलेज टपर’देखि जिल्लाकै ‘पहिलो’ महिला इन्स्पेक्टरसम्म !


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका लागि यस वर्ष उत्तीर्ण भएका ४९ जना इन्स्पेक्टरमा ५ जना महिलाहरु रहेका छन् । ती मध्ये पुष्पा खुल्लाबाट १ नम्बरमा नाम निकाल्न सफल भएकी हुन् भने अन्य चार जनाले महिला कोटाबाट इन्स्पेक्टर बन्न सफल भएका हुन् ।

प्रकाशित नतिजाअनुसार उत्तीर्ण भएका उम्मेदवारहरुमध्ये कोही कलेज टपर छन् भने कोही जिल्लाकै पहिलो महिला इन्स्पेक्टर रहेका छन् । अझै नेपालको पूर्वी क्षेत्रमा बाहुल्यता रहेको लिम्बुहरुको प्रतिनिधित्व गर्ने पहिलो महिला इन्स्पेक्टर भएको समेत दाबी गरिएको छ ।

त्यस्तै उत्तीर्णमध्ये एक उम्मेदवारको श्रीमान् सुरक्षा निकायमै कार्यरत छन् । फरक संगठन भए पनि श्रीमान्कै पदमा नाम निकाल्न सफल भएकी छन् । यस्ता छन् २०७८ को ४९ जनाको ब्याजमा इन्स्पेक्टर हुन सफल ५ अफिसरः

पुष्पा बानियाः ललितपुर टिकाथलीकी पुष्पा समग्र ४९ जना इन्स्पेक्टरमा सर्वोत्कृष्ट हुँदै १ नम्बरमा नाम निकाल्न सफल भईन् । खुल्लाबाट १ नम्बरमा नाम निकाल्न सफल पुष्पा सैनिक कलेज भक्तपुरबाट स्नातक पास गरेकी हुन् । पढाईमा अब्बल पुष्पाले देशकै टप कलेज प्रसादी कलेजबाट व्यवस्थापनमा १२ सकाइन् । अनि रोजीन्, स्नातकमा बीबीए । अनि रोजिन् भक्तपुरस्थित सैनिक कलेज । उनले सैनिक कलेज भक्तपुरमा बीबीए टप गरेलगत्तै गत भदौमा सशस्त्र प्रहरीले इन्स्पेक्टरका लागि दरखास्त दिइ प्रतिस्पर्धा गरिन् र भइन् सफल पनि ।

मन्जु बिसुंखेः तनहुँकी मञ्जु विसुंखे भानु उच्च माविबाट आफ्नो उच्च शिक्षा प्रारम्भ गरेकी हुन् । उनी प्रकाशित नतिजामा महिला तर्फ १ नम्बरमा नाम निकाल्न सफल भएकी छिन् ।

पूर्णिमा लिम्बुः तेह्रथुमस्थित भगवती उच्च माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तेह्रथुम जिल्लाकै पहिलो महिला सशस्त्र इन्स्पेक्टर बन्न सफल भएकी छिन् । उनले प्रकाशित नतिजामा महिला तर्फबाट २ नम्बरमा नाम निकाल्न सफल भएकी छिन् । सहिद स्मारक क्याम्पसबाट स्नातक सकेकी पूर्णिमा लिम्बु महिलाहरुकै पहिलो इन्स्पेक्टर भएको दाबी पनि गरिएको छ ।

कमला पहराईः सशस्त्र इन्स्पेक्टर बनेकी अर्की उम्मेदवार हुन् कमला पहराई । गुल्मी तम्घासकी कमला रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । विवाहित कमलाका श्रीमान् पनि सुरक्षा निकायमै रहेका छन् । उनका लागि सुरक्षा निकाय पक्कै पनि परिचित र तुलनात्मक रूपमा सहज कार्यथलो बन्न सक्छ ।

पूजा विष्टः अर्की सफल उम्मेवार हुन् पूजा विष्ट । उनले यसपटकको नजितामा पास भएका ४९ जना र उत्तीर्ण ५ महिला इन्स्पेक्टरमा आफूलाई पनि पार्न सफल भएकी छिन् । उनी महिला तर्फबाट ४ नम्बरमा नाम निकाल्न सफल भएकी हुन् । सुदूरपश्चिमको कञ्चनपुरकी स्थायी बासिन्दा पूजाले पहिलो पटकमै नाम निकालेकी हुन् । उनले पनि बीबीए पास गरिसकेपछि इन्स्पेक्टरका लागि जाँच दिएकी थिइन् ।

यी ५ महिला ‘अफिसर’हरु नेपाली युवाहरुको सुरक्षा निकायप्रतिको दृष्टिकोणका प्रतिनिधि पात्र हुन् । जसले देशका लागि सुरक्षा निकायजस्तो संवेदनशील र जिम्मेवार पेशा रोजे । उनीहरुले यदि चाहेको खण्डमा सो भन्दा बाहिरको क्षेत्रमा पनि प्रतिष्ठित जीवन बिताउन सक्षम थिए ।

सुरक्षा निकाय भन्ने बित्तिकै लड्नु, दौडनु भन्ने मानसिकता बनेको नेपाली समाजको सोचाई र केही हदसम्मको वास्तविकतालाई चुनौतीका रुपमा स्वीकार गर्दै संगठनमा छिरेका अफिसरका कारण संगठनले पनि पक्कै पनि आशा लिएको हुन्छ र उनीहरुले पनि यसअघि आफ्नो जीवनकालका सफलताहरुलाई संगठनसँग जोड्नु कर्तव्य हुन आउँछ । जसले गर्दा संगठन र व्यक्तिगत मात्र नभई समग्र राष्ट्रहितका लागि उनीहरुको योगदान अहम् बन्नसक्दछ ।

 

प्रतिक्रिया