

स्थानीय चुनाव: प्रधानमन्त्री र मन्त्रीले समेत पार्टीका लागि भोट माग्न नपाउने

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो ।
आचारसंहिताको यो व्यवस्थाबमोजिम आसन्न निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री एवम् सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी सभामा भाग लिन र उम्मेदवारको लागि भोट माग्न नपाउने भएका छन् ।
आयोगले मंगलबारमात्रै निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा दललाई आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन बोलाएको थियो । आचारसंहितामा सत्तारुढ गठबन्धनको नेतृत्वमा रहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित गठबन्धनका घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहित दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिसकेका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले निर्णय गरेर आचारसंहिता जारी गरेको र त्यसमा दलहरूले समेत प्रतिबद्धता जनाइसकेको बताए । ‘आयोगले दलहरूसँग छलफल गरेर नै आचारसंहिता बनाएको हो, यो आयोगको निर्णय हो । त्यसमा दलहरूले पनि प्रतिवद्धता जनाइसकेका छन्,’ उनले भने ।

