सुपारी आयात तत्कालका लागि रोक्न उद्योग मन्त्रालयलाई संसदीय समितिको निर्देशन


काठमाडौं – उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितिले उद्योग मन्त्रालयलाई सुपारी आयात तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।बुधवार समितिको बैठकमा सभापति विमल श्रीवास्तवले उद्योग र वाणिज्य सचिवहरूलाई तत्कालका लागि आयात सिफारिस राेक्न निर्देशन दिएका हुन् ।

समितिले आयात खुला गराइएका उद्योगमाथि अनुगमन गर्ने भन्दै अनुगमनको निष्कर्ष ननिस्किएसम्म आयात सिफारिस रोक्न निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिती कम रहेकाे अवस्थामा सुपारीजस्ता वस्तु आयातमा राेक लगाउनुपर्ने उनकाे भनाइ थियाे । ‘सुपारी आयातकाे इजाजत नदिन सरकार, उद्योग र वाणिज्य विभागलाई निर्देशन छ,’ उनले भने ।

सभापति श्रीवास्तवले आयातकाे अवस्था अध्ययन गर्न समिति विभिन्न ठाउँमा जाने पनि बताए । उनले संसदीय समिति अनुगमनका लागि भ‌ैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा जान लागेको जानकारी दिए । समिति सदस्यहरूले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा राेक लगाउनुपर्ने बताए ।

प्रतिक्रिया