
प्रदेशभित्रकै दोस्रो वृहत् विद्यालयको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
सिन्धुपाल्चोक – राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचपाेखरी थाङपाल भ्याली विद्यालयको उद्घाटन गरेकी छिन् । पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा बनेको ५४ कोठे विद्यालय भवनकाे आज आइतवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यसले शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताए । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले आश्वासन दिए। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा पनि उनले जोड दिए।
शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाइ गुणस्तरीय शिक्षा प्रदान गर्न एक कोशेढुङ्गा भएको विद्यालय एसियाली विकास बैंक (एडीबी) काे २४ कराेड रुपैयाँ सहयोगमा विद्यालयकाे निर्माण गरिएकाे हाे ।
बाग्मती प्रदेशभित्र वृहत् विद्यालयका रूपमा सञ्चालनमा आएको थाङपाल भ्याली विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ काे थाङपालकोटमा एउटै नमुना विद्यालय बनाइएको हो ।



कागजपत्र |
