सेतो सारीनै ‘अपरिहार्य’ बनेको शरीरमा रातो रगत किन ?


पसलमा धेरै थरीको ग्राहकहरु आउनुहुन्छ । किनमेल कै क्रममा धेरै कुराकानीहरू पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो हुन्छ ।

मान्छे अनुसारको हुन्छ लुगा लगाउने तरिका । आफ्नो रोजाईको लुगा कसलाई मनपर्दैन र ?

रहर भन्ने कुरा अचम्मको हुन्छ । आफ्नो रहर पूरा गर्न पाउँदा मान्छेको मन प्रफुल्ल हुन्छ ।

जसरी पनि आफू राम्री देखिनुपर्यो । कोहि आफुलाई मनपर्ने लगाउनुहुन्छ । कोही आफ्नो श्रीमानलाई मनपर्ने लगाउनुहुन्छ । कोहि आफ्नो साथीलाई सोधेर मलाई कस्तो देखियो भन त ? भनेर साथीले सुहाएको छ भनेपछि मात्रै लिनुहुन्छ । भने कोही मलाई नै सोध्नुहुन्छ मलाई कुन राम्रो देखिन्छ म हजुरले भनेको लिन्छु भन्नुहुन्छ । यति अधिकार पाइसके पछि म पनि उहाँलाई सुहाउने मलाई मनपरेको लुगा दिन्छु ।

मेरो दैनिकी यसरी नै बित्छ कर्मथलोमा । धेरै थरीका महिलाहरूसँगको सम्पर्कमा रहने पेशा मेरो । साँच्चिकै मलाई केटी मान्छे असाध्यै मनपर्छ । एकछिनको बसाइँ पनि सारै रमाइलो हुन्छ । दु:ख सुखका कुराहरू पनि हुन्छन रमाइलो लाग्छ ।

अनि सोच्छु महिलाहरू कति भाग्यमानी यति राम्रो राम्रो लुगा लगाउन पाउने । महिलाको तुलनामा पुरुषहरूको लुगाको खासै धेरै भेराइटी देख्दिनँ म ।

प्रकृतिको सुन्दर रचना नारी आँफैमा कति राम्रा । दिनप्रतिदिन नयाँ-नयाँ फेसन श्रृङ्गारले महिलाको सुन्दरता अझै निखारिदै गएको छ । बजारमा देखिने झिलीमिलीमा ९०% सामान महिला कै हुन्छन् ।

पुराना कथाहरुमा पनि नारीको सुन्दरताको वर्णन धेरै नै गरिएको हुन्छ । फुलहरुले आफुलाई सिगार्ने नारीहरू आजको युगमा धेरै फड्को मारिसके । सुन्दर हुन मननपराउने नारी विरलै हुन्छन् ।

फेरि प्रसङ्ग पसलकै जोडेँ एकजना महिला ग्राहक आउनुभयो । अनि सर्सती सबै लुगाहरू हेर्दा उहाँको आँखा टक्क उज्यालो सेतो रंगको कुर्थासुरवालमा रोकियो । मैले खोलेर देखाइदिएँ सारै मनपराउनुभयो । मनपरेको लुगा देखेर होला अनुहार पनि लुगाजस्तै चमक्क चम्कियो ।

हजुरलाई यो लुगा असाध्यै सुहाउँछ लिनुस् भने । अनि अलिकति रातो मिसिएको भए हुने सेतै भो । मलाई सेतो रंग असाध्यै मनपर्छ तर ….

म अवाक भए रंगमा के  आपत्ति छ लगाउनुस आफुलाई मनपरेको रंग .. ..

उहाँले त्यो सेतो कुर्थासुरवाल नहेरी अरु नै रङ्ग अलिकति रातो मिसिएको रंगको लुगा लिएर जानुभो मैले हेरीरहेँ ।

त्यस्तै अर्को आउनुहुन्छ मान्छे राम्री हसिली कुराकानी कै क्रममा थाहा भयो उहाँको श्रीमान् दुर्घटनामा मृत्यु भएको रहेछ दु:ख लाग्यो । उज्यालो रंगहरु मनपराउने उहाँ आफुलाई मनपर्ने रंग रोज्न हिच्किचाउनु भो । धेरै दिन भएको छैन मान्छेले के भन्छन् ?  म सोचमग्न भएँ ।

अकालमा श्रीमानको मृत्यु हुन्छ । सानासाना केटाकेटी छन् । आफ्नो उमेर त्यहीँ २७ -२८ वर्षको होला । कति ठूलो बज्रपात । आगनमा शव हुन्छ मान्छेहरूको ओइरो हुन्छ । पार्टीका मान्छे आउँछन् झन्डा ओढाउँछ्न् मौनधारण गर्छन् ।

एउटा मान्छेको आवाज सुनिन्छ अब अन्तिम संस्कारको बेला भो चुरा पोते सिंदुर ल्याएर शवमा चढाउनुहोस् । म झसङ्ग हुन्छु । एउटा कुनाबाट हेरिरहेकी थिएँ । त्यहाँ उपस्थित पार्टीका नेतृत्वगण जसले समाज परिवर्तनका कुराहरु गर्छन् तर, कसैले पनि भन्न सकेनन् कि यसरी चुरापोते सिन्दुर शवमा चढाउनु पर्दैन यो कुसंस्कार हो । म मुकविहिन भए । सतिप्रथा अझैपनी कायमै भएको अनुभुति भो ।

त्यो दिनभर मेरो मनमा धेरै कुराहरु आए । एउटा मनपरेको रङ्ग लगाउन नसक्ने नारी यो सिसाको चुरा कहिले बनेको होला ? यो पोते कहिले कहाँ बनेको होला ? यो रङ्गको आविस्कार कहिले भएको होला ? यो सिन्दुर टीका कहिले बनेको होला ? मेरो मन बेचैनी भो ।

मैले धेरै सोचे सिसाको चुरा त अहिलेसम्म नेपालमा बनेकै छैन होला । बर्सेनि कति अरबको चुरा आयात भएको समाचारमा सुन्छु ।

आफ्नो प्यारो मान्छेसँगको सम्बन्धलाई यो चुरा, पोते र रातो रङ्गले किन जोडेको छ ? कसले बनायो यो नियम ?

यदि भगवानले बनाएको नियम भए पतिको मृत्युपछि शरीरमा बगेको रातो रगत पनि सेतो हुनुपर्ने ? अथवा मानिसले बनाएको भए सबैले किन मान्नैपर्ने ? बाहिरी आवरण सेतोभित्रको रगत रातो किन ?

सानो-सानो कुरामा खुशी हुने अरुको खुशीलाई जीवन समर्पित गर्ने नारीलाई आफू रमाउने र खुशी हुने अधिकार किन छैन ? कसले रोकेको छ ?

मान्छेको जीवन कर्कलाको पानी हो । पति/पत्नि एक रथका दुई पाग्रा हुन् । समान नियन किन लागू हुँदैन ? मृत्यु भनेको अन्तिम सत्य हो । यो कतिखेर कस्को हुन्छ ? कसैलाई थाहा हुँदैन ।

समाजमा एउटी नारीको पतिको मृत्यु पछि नचाहिँदो विषयको चर्चा हुन्छ । अझै भनौ चर्चा गर्नै नपर्ने विषय कस्तो लगाइ ? के लगाई ? खुशी छ कि दु:खी छ ? अनि सारै नराम्रो त उनलाई गरिने व्यवहार र हेर्ने दृष्टिकोण आदि इत्यादि यसलाई अज्ञानता भनुँ कि हेपाहा प्रवृत्ति ?

आधा अंग अर्थात अर्धाङ्गिनी । ल नियमकै कुरा गरौं पत्नीको वियोगमा जुन नियम पतिलाई लागू हुन्छ । त्यहि नियम पतिको वियोगमा पत्नीलाई नै लागू हुनुपर्छ ।

घरधन्दा चलाउन सारै गाह्रो भो अब त अर्को बिहे गर्नुपर्छ भनेर पत्नी मरेको एक महिना नबित्दै घरजम गरेका उदाहरण पनि धेरै छ्न हाम्रो समाजमा । महिला विना एकछिन बाँच्न नसक्ने पुरुष ।

हो यहि नियम महिलामा पनि लागू हुनुपर्छ । कति गाह्रो हुन्छ आफ्नो प्यारो मान्छेको वियोग त्यसैमाथी नचाहिदा कुसंस्कार थोपरेर आफ्ना इच्छा चाहनालाई मारेर उराठ जिन्दगी जिउनुपर्ने यो कस्तो नियम हो ?

नचाहिने बिना प्रमाण बिना तुकका नियमले अहिले पनि यो समाजले महिलालाई जिउँदै जलाइरहेको छ ।

दु:ख आफ्नो ठाउँमा छ । त्यसमै पनि हाम्रो दैनिक चलिनैरहेको हुन्छ । यसमा आफुले लगाइरहेको सामानहरूसङ्ग श्रीमानको मृत्युको कुनै सम्बन्ध छैन । बिहे हुनु अघि पनि श्रृगारका सामानहरू लगाइरहेकै हुन्छन धेरै जसो सामानहरू । बिहेमा अलि धेरै राम्री देखिनको लागि अलि बढी नै लगाइएको मात्रै हो ।

प्रतिक्रिया