

चुनावी गठबन्धनमा जाने गरी कांग्रेसले तयार गर्याे निर्णय खाका

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको छ । आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको हो ।
बैठकले देशका सबै स्थानीय तहमा एक्लै निर्वाचन लडेर बहुमत स्थानीय तहको नेतृत्व गर्न सक्षम भए पनि गठबन्धन सरकारमा रहेका दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक स्थानीय तहमा तालमेल गर्ने निर्णय लिन लागेको हो । यसको औपचारिक निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज ३ बजे सानेपामा बस्दैछ । बैठकमा निर्णय गर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ ।
“बिहान बसेको बैठकमा हामी पदाधिकारीहरूले आफ्नो विचार राखेर हिँडेका छौ । महामन्त्रीज्यूहरूले निर्णय लेखेर कार्यसम्पादनका साथीहरुसँग छलफल गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने समझदारी भएको छ,” सहमहामन्त्री भीष्मराज आङदेम्बेले भने, “गठबन्धन कुन तहबाट कसरी गर्ने भन्ने निर्णय भने पछि हुनेछ ।”
उनले अहिले नै कुन तहमा गठबन्धनको निर्णय कसले गर्ने भन्ने विषय नटुंगिएको जानकारी दिए । शुक्रबारदेखि जारी बैठकमा सोमबारसम्म प्रदेश सभापति, केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रम सकिएको छ । सभापति देउवाले आजको बैठकमा सम्बोधनसहित निर्णय प्रस्ताव गर्नेछन् । बैठकले चुनावी तालमेलको आवश्यकताबारे सैद्धान्तिक निर्णयसँगै आवश्यकताको टुंगो लगाउने जिम्मा भने स्थानीय समितिलाई दिने भएको छ ।
प्रस्तावित निर्णयमा कुन-कुन स्थानीय तहमा चुनावी तालमेलको आवश्यक रहन्छ र शक्ति बाँडफाँट कसरी गर्न सकिन्छ भन्नेबारे सम्बन्धित जिल्ला समितिले निर्णय र सिफारिस गर्ने विषय समावेश गरिएको छ ।

