

उपमेयर परनिया बनिन् देवाही गोनाहीको नगर प्रमुख

रौतहट – उपमेयर परनिया देवी पटेल रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको जिम्मेवारी पाएकी छिन। बिधिवतरुपले कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर परनिया देवी पटेलले पाएकी छिन । नगरपालिकामा मेयरमा निर्वाचित धर्मेन्द्र पटेल हालसम्म अख्तियारद्वारा निलम्बित रहेकाले उपमेयर पटेल लाई प्रमुखको जिम्मेवारी दिईएको हो ।
कार्यवाहक मेयरको रूपमा पछिल्लो केही दिनदेखि नगरको कामकाज गर्दै आएपनि बिधिवतरुपमा आज सोमबार देखि मेयरको जिम्मेवारी सम्भालेको परनिया देवी पटेलले जानकारी दिईन । देवाही गोनाही नगरपालिकाका निलम्बित मेयर धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औं दिन धरौटीमा रिहा भएका थिए ।
अख्तियार दुरुपयोग अनुसंधान कार्यालय काठमाडौंको बिशेष अदालतमा गत ७ गते सोमबार ४ लाख रुपैया धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेल विरुद्ध भ्रष्टाचारको कसुरमा गत ६ गते आइतबार विशेषमा अदालतमा मुद्धा दर्ता गरेको थियो ।
बिशेष अदालतमा मुद्दा दर्ताभएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लआख रुपैया धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएका थिए ।
मेयर धर्मेन्द्र पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरि ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुईलाख ५० हजार नगद र त्यतिकैको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघिनै छुटिसकेका थिए ।
अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरुले उक्त आरोपको खण्डन गर्दै आएका छन ।
पटेलले घुस मागेको सूचनाको आधारमा अख्तियारले उनिविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनि आफ्नो एकजना सहयोगसँगै रकम र चेकसहित पक्राउ परेका थिए । आरोपी धर्मेन्द्र पटेल सहयोगी सहित धरौटीमा रिहा भएपनी मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म पटेल निलम्बित रहने अख्तियारले जनाएको छ।
देवाही गोनाही नगरपालिकामा गत स्थानीय निर्वाचनमा जसपा बाट धर्मेन्द्र पटेल मेयरमा र तत्कालीन माओवादी बाट परनिया देवी पटेल उपमेयरमा निर्वाचित भएकी थिईन। उपमेयर पटेल हाल एमालेमा रहेकी छिन ।

