एमालेलाई साइजमा राख्न गठबन्धन जरुरी छ : रामचन्द्र पौडेल


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । कांग्रेस नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताए ।

अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले पनि गठबन्धन जरुरी भएको पौडेलको भनाइ थियो । नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने उनको भनाइ छ । पौडेलले बैठकमा भने, ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’

कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने धारणा राखे ।

 

प्रतिक्रिया