

स्थानीय वायु सक्रिय हुँदा केही स्थानमा हल्का वर्षा

काठमाडाैं – हाल काठमाडाैं उपत्यकासहित देशका केही पहाडी क्षेत्रको मौसम परिवर्तन आएको छ । विषेशगरी वाग्मती प्रदेश, प्रदेश नम्बर एक र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम धुम्मिनुका साथै केही ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसारको काठमाडाैंका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । अरू ठाउँमा पनि केहीबेरमा पानी पर्ने सम्भावना रहेकाे साथै एक/दुई घण्टापछि भने बिस्तारै मौसम सफा हुँदै जानेछ ।
जमिन तातेर स्थानीयस्तरमै बनेको हावाको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम धुम्मिएको हो । स्थानीय हावाकै प्रभावका कारण अहिले केहीबेरमा बाग्मती प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
काठमाडाैं उपत्यकामा वायुमण्डलमा भएका धुँवा र धुलोका कणलाई हावाले राम्ररी उडाएर लैजान नसकेकाले मौसम बढी धुम्म देखिएको मौसमविद् बताउछन् । भोलि मङ्गलवार पनि बिहान र दिउँसो घाम लागेर बेलुकातिर मौसम धुम्मिएर पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

