चुनावी गठबन्धनसम्बन्धी निर्णय केन्द्रीय समितिबाट हुन्छ : पौडेल


काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी केन्द्रीय कार्यसमितिबाट चुनावी गठबन्धनका विषयमा नीतिगत निर्णय हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकबाट बाहिरिने क्रममा पौडेलले पत्रकारसँग अनौपचारिक कुराकानीमा यस्तो जानकारी गराएका हुन् ।

उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’  धेरै  केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको पौडेलको भनाइ छ।

कांग्रेस केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरू भएको थियो। आज पनि बैठक बसिरहेको छ। बैठकमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले बस्तुगत अवस्थाबारे जानकारी गराइरहेका छन्।

‘धेरै केन्द्रीय सदस्यहरूको धारणा गठबन्धनको आवश्यकता छ भन्ने नै देखिएको छ,’ उनले भने, ‘कहाँ लिने र कहाँ छाड्ने भन्ने पछि सल्लाह होला। तर यो बैठकले तालमेलको पक्षमा गठबन्धन बचाएर लैजानुपर्छ भन्ने नीतिगत निर्णय लिन्छ।’

प्रतिक्रिया