


योगी आदित्यनाथले आज मुख्यमन्त्री पदको सपथ लिँदै, नेपाल सांसद शाहसहित चार जना सहभागी हुने

लखनऊ- भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त योगी आदित्यनाथले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। भारतीय सञ्चारमाध्यमकाअनुसार लखनऊको इकाना स्टेडियममा साँझ चार बजे हुने सपथ समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ। लखनऊका शहरका चोक चोक केशरी रंगमय भएको छ। ठूलो होर्डिङ बोर्ड र झण्डाहरु चोक चोकमा राखेर झकिझकाउ बनाइएको छ।
सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्। केन्द्रीय मन्त्रीहरु १२ राज्यका मुख्यमन्त्री पनि उपस्थित हुनेछन्। नेपालबाट समेत सांसद अभिषेकप्रताप शाहको नेतृत्वमा चार सदस्यीय टोली सहभागी हुँदैछ।
भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलले बिहीबारै योगीलाई दल नेता चुनिसकेको छ। दलको नेता चुनिएपछि योगीले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफ हुन पाएकोमा गौरव व्यक्त गरेका छन्। उनले पाँच बर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुसी बनाएको बताए।
हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ।

