पल शाहको मुद्दामा बहसः थुनामा पठाउने कि रिहा गर्ने भन्नेबारे बिहीबार मात्रै आदेश हुने


काठमाडौं – नाबालिगमाथि बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह)  विरूद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ।  जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भएको  जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए। बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यवसायीले बहस गर्ने छन् ।

पीडितका तर्फबाट बुधबार जिल्ला न्यायाधिवक्ता शर्मा, अधिवक्तारू मोहना अन्सारी, सरिता तिवारी, राधिका खतिवडालगायतले बहस गरेका थिए। बिहीबार पलका कानुन व्यवसायीले बहस गर्ने कार्यसूची छ। दुबै तर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ। थुनछेक आदेशमा बलात्कार अभियुक्त शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश जिल्ला न्यायाधीश ढुङ्गानाले निर्णय गर्नेछन्।

हालसम्म जाहेरबालाका तर्फबाट ७ र  शाहको पक्षवाट १० जना कानुन व्यवासायीले वकालतनामा भरेका छन्। यो संख्या अझै बढ्ने देखिएकाले बुधबार थुनछेक वहस समाप्त हुन नसक्ने देखिएको बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पल विरूद्ध अधिकतम १४ वर्ष र उनका म्यानेजर कृष्णलाई बलात्कार मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। मुद्दा दर्तालगत्तै अदालतले पलसँग बयान लिएको थियो भने कृष्णसँग बुधबार बयान लिएको जनाएको छ।

अदालतले लिएको बयानमा पल र कृष्ण दुबैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहोर्‍याएका छन्। अभियोग पत्रमा पलले बलात्कार अस्वीकार गरेका छन्। बलात्कार अस्वीकार गरे पनि अडिओमा सार्वजनिक उनको ‘र्गलफ्रेन्ड-ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने अभिव्यक्ति आफ्नो भएको स्वीकारेका छन्। पीडित गायिका नाबालिग रहेको आफूलाई जानकारी रहेको र वारदात भएको स्थानमा मध्यरात बियर लिएर पीडितको कोठामा गएको पनि पलले स्वीकार गरेका छन्।

यस्तै, उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने अभिव्यक्ति दिएको स्वीकारेका छन्। झुठो प्रेमको प्रलोभनमा पारेर पटक-पटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए।

प्रतिक्रिया