पल शाह जेल जालान् कि हिरासतबाटै घर फर्केलान्? आजबाट अदालतमा बहस


काठमाडौँ– नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपी रहेका कलाकार पल शाह हिरासतबाटै घर फर्कने कि जेल जाने टुंगो अब भने लाग्ने देखिएको छ। आज(बुधबार)बाट तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ। बहसपछि तनहुँ जिल्ला अदालतले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने कि घर पठाउने भन्ने आदेश सुनाउनेछ।
कानुनले पललाई थुनामा पठाउन सक्ने देखाउँछ। तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दा पूर्पपक्ष्का लागि थुनामै पठाउनुपर्ने उल्लेख छ। शाहलाई अहिले लागेको मुद्दामा १२ देखि १४ वर्षसम्मको कैद सजाय मागिएको छ। शाहको कसुर प्रमाणित हुने आधार पुष्टि भएमा अदालतले पुर्पक्षका लागि थुनामै पठाउने छ।

जिल्ला सरकारी वकिल कार्यालयले शाहले कसुर गरेको दाबी गर्दै १६ पृष्ठ लामो अभियोजनपत्र दायर गरेको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको अभियोजनपत्रमा मुख्य प्रमाण भने अभियुक्त र पीडितका अडिओ सामग्री र म्यासेजलाई बनाइएको छ।

अभियोजन पत्रसाथ पीडितको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनासँग सम्बन्धित दिएको अडिओ, भिडिओ रेकर्ड, पल शाहले घटनापछि पीडितसँग कुरा गरेको भनि पीडित पक्षले पेस गरेका अडिओ सामग्री र कल डिटेल रेकर्ड सबुद प्रमाणका रुपमा अदालतमा पेस गरिएको हो।

यस्तै पीडित र पल शाहबाहेक १६ जनाको बयान पनि घटनाका प्रमाणका रुपमा रहनेछन्। प्रहरीले घटनासँग जोडिएका पीडित र पल शाह पक्षका व्यक्तिसँगै घटना भएको होटलका सञ्चालकसँग पनि बयान लिएको छ। त्यो पनि अदालतमा बुझाएको छ।

केही थप प्रमाण अदालतमा पछि पेस गरिने पनि अभियोजनपत्रमा उल्लेख छ। पीडितको मोबाइलमा रहेका म्यासेजको विस्तृत विवरण, पीडितले तनहुँ र गैडाकोट प्रहरी कार्यालयमा उपलब्ध गराएका अडिओ रेकर्डको परीक्षण प्रतिवेदनको पूर्ण कपि, यस्तै यही घटनामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशीको पोलियोग्राफ प्रतिवेदन बुझाउन बाँकी छ। प्रतिवेदन प्राप्त भएपछि अदालतमा उपलब्ध गराउने भनिएको छ।

घटनापछि सार्वजनिक भएका अडिओ र म्यासेज भने आफ्नै भएको अभियुक्त पलले स्वीकार गरेका छन्।

प्रतिक्रिया