मन्दिर संचालक समितिको नेतृत्व चयनमा दलीय भागवन्डा, कांग्रेस र एमालेले आधा–आधा कार्यकाल चलाउने


अर्घाखाँची– अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली मन्दिरको संचालक समितिमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँट गरेका छन् । केही दिनअघि सम्पन्न अधिवेशनमा डेढ–डेढ वर्ष नेतृत्व गर्नेगरी बाँडफाँट मात्र गरेका छैनन् कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँट गरेका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं। २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् ।

एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर संचालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल काँग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्वसहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरुको छ । नवनिर्वाचित अध्यक्ष फर्सबहादुर केसी भने आफूहरु विधानअनुसार नै अगाडि बढेको दाबी गर्छन् ।

प्रतिक्रिया