श्रीलंकामा पेट्रोलियम पदार्थको चरम अभाव, लाइनमा बसेका दुईजनाको मृत्युपछि अवस्था तनावग्रस्त


एजेन्सी- श्रीलंका पछिल्लो केही समययता इन्धन संकटको सामना गरिरहेको छ।  श्रीलंकामा पेट्रोल र मट्टितेलको लागि निकै लामो लाइन लागेको छ। आइतबार दुई फरक फरक सहरमा लागेको लाइनमा दुईजनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमा बसेका दुई वृद्ध मानिसको मृत्यु भएको हो। दुवैको उमेर ७० वर्षको हाराहारीमा थियो।

श्रीलंकन प्रहरी प्रवक्ता नलिन थालडुवाका अनुसार मृत्यु हुनेमध्ये एकजना अटोचालक थिए। उनी मधुमेह र मुटुको रोगको सामना गर्दै आएका थिए। अर्का एक जनाको उमेर भने ७२ वर्षको थियो। उनीहरु दुवैजना निकै लामो समयदेखि लाइनमा थिए।

श्रीलंकाको वैदेशिक मुद्रा सञ्चिति निकै कमजोर बनेको छ। जसको कारण पेट्रोलियम पदार्थको आयातमा समस्या देखिएको छ। त्यसैले पेट्रोल, मट्टितेल र ग्यासको अभाव देखिएको छ। पेट्रोल पम्पमा  निकै लामो लाइन देख्न सकिन्छ भने घण्टौंसम्म बिजुली कटौती हुन थालेको छ।

श्रीलंकाको आर्थिक अवस्था यति कमजोर बनिसकेको छ कि कागज र प्रिन्टिङको मसी खरिद गर्ने पैसा नभएको भन्दै स्कुले विद्यार्थीको परीक्षा नै रोकिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार कोभिड–१९ को कारण पर्यटनमा आधारित श्रीलंकाको अर्थतन्त्र नै धरमराएको छ। पछिल्लो समय श्रीलंकाले अन्य मुलुक तथा वित्तीय संस्थाहरुसँग आर्थिक सहयोगको माग गरिरहेको छ।

प्रतिक्रिया