
वडाध्यक्षको दुर्व्यवहारपछि प्रमुख प्रशासकीय अधिकृत कार्यालय जान छाडिन्
खोटाङ – वडाध्यक्षले दुर्व्यवहार गरेपछि खोटाङको ऐंसेलुखर्क गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव कार्यालय जान छाडेकी छन्। ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाअध्यक्ष सन्तवीर तामाङले आफूलाई दुर्व्यवहार गरेपछि कार्यालय जान छाडेको यादवले बताइन्। ‘सडक निर्माणको भुक्तानीको विषयलाई लिएर वडाध्यक्षले दुर्व्यवहार गरेपछि मलाई कार्यालय जान मन लागेको छैन,’ यादवले भनिन्।
वडाअध्यक्षले दुर्व्यवहार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत कार्यालय नजाँदा गाउँपालिकाको कामकाज प्रभावित भएको छ। केराबारी–कोलडाडाँ सडक खन्न वडाअध्यक्ष तामाङको एक्साभेटर प्रयोग गरिएको थियो। एक्साभेटरले लिने रकमको बारेमा विवाद भएपछि आफूमाथि दुर्व्यवहार भएको यादवले बताइन्।
४ लाख ३७ हजार रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी स्थानीय टंक रेग्मीको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडाअध्यक्ष तामाङको एक्साभेटरलाई काम जिम्मा दिएको थियो।
सडक निर्माण गरेवापत रकम भुक्तानीको लागि उपभोक्ता समितिले बिल पेश गर्नु पर्थ्यो । तर काम गरेको डोर हाजिरी बनाएर रकम माग गरिएपछि आफूले त्यसप्रति असहमति जनाउँदा वडाध्यक्ष तामाङले मुख छाड्दै दुर्व्यवहार गरेको यादवले बताइन्।
‘वडाध्यक्षले मोबाइल भुइँमा बजारेर टेबल ठोक्दै नानाभाँती भन्नुभयो,’ यादवले भनिन्, ‘त्यसपछि म कार्यालय गएको छैन। मलाई न्याय चाहिएको छ।’यसअघि गाउँपालिकाका योजना शाखा प्रमुख प्रदीप ढकाललाई पनि वडाध्यक्ष तामाङले दुर्व्यवहार गरेका थिए।
गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच केही विवाद देखिएको बताए। उनले विवाद समाधान भइसकेकाले अब केही दिनमै अधिकृत यादव कार्यालयमा उपस्थित हुने दाबी गरे।



कागजपत्र |
