

नेपालले आज यूएईसँग विश्वकप छनाेटकाे हारकाे बदला लिन्छ त?

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शुक्रबार नेपालले घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल यूएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आईसीसी–२० विश्वकप ग्लोबल छनोट ‘ए’को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिने दाउँमा हुनेछ । यूएईले नेपाललाई ६८ रनले हराउँदै टी–२० विश्वकपमा पुगेको थियो । यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो ।
अंक तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ । युवा ब्याटर वृत्य अरविन्द नेपाललाई घातक बन्न सक्नेछ । उनले नेपालविरुद्ध २३ बलमा ४६ रन बनाउँदै विश्वकप सपनामा तगारो बनेका थिए । उच्च लयमा रहेका १९ वर्षीय अरविन्दले नामिबियाविरुद्ध १ सय १५ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ९७ र बहराइनविरुद्ध ८४ रनको इनिङ खेलेका थिए ।
आक्रामक र संयमति शैलीको क्षमता राख्ने उनले मैदानमा परिपक्क र म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् । ओपनर चिराग सुरी, अरविन्द, मोहम्मद वासिम, कासिफ दाउद, आसिफ खान, सिपी रिजवान, रोहन मुस्तफा र बासिल हामिद सबैले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । उच्च लयमा रहेका सुरीले नेपाललाई पुनः निराश बनाउन सक्छन् ।
नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ५३–६ को अवस्थाबाट बासिल हामिदले ६२ र कासिफ दाउदले ७६ रन जोड्दै जित पक्का गराएका थिए । जहुर खान र जुनैद सिद्दिक, रोहन मुस्ताफा र अहमद राजा नेपाललाई घातक हुन सक्नेछ । यूएईलाई घरेलु मैदानको थप फाइदा हुनेछ । नेपालले यूएईलाई घरेलु मैदानमा हराउँन आफ्नो सर्वोत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।
सामान्य प्रदर्शनले जित सम्भव देखिँदैन । ब्याटिङले नेपाललाई थप चिन्ता थपेको छ । युवा ब्याटर रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख र कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कमलसिंह ऐरी, सागर ढकाल, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी रहेका छन् । करणबाट नेपाल विस्फोटक अन्त्य गर्न चाहन्छ ।

