
मूल्य वृद्धिपछि पनि नोक्सानमै निगम, १५ दिनमा चार अर्ब ६६ करोड घाटा
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।
हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । यसैगरी अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारबाट नै मूल्य बढेर आएपछि घाटा थेग्नै नसक्ने अवस्था भएको निगमले जनाएको छ । घाटा थेग्नै नसक्ने भएपछी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमको भनाई छ । यसअघि निगमले फागुन १९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
तर पटक पटक मूल्यवृद्धि गर्दा समेत आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड रुपमैयाँ नोक्सानी हुने भएको हो । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।
आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।
हेर्नुहोस् विज्ञप्ति :




कागजपत्र |
