मिलन पाण्डेले रवीन्द्र मिश्रलाई अंकल भनेपछि . . .


काठमाडाैँ –  विवेकशील साझा पार्टीले आफूपक्षीय २६ केन्द्रीय सदस्यलाई पदबाट हटाएपछि निलम्बित संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई कडा चेतावनी दिएका छन्। यस क्रममा उनले अध्यक्ष मिश्रलाई ‘अंकल’समेत भनेका छन्।

विवेकशील केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको हो।

यस्तै प्रदेश सांसदसमेत रहेका रमेश पौड्याल, रविना अम्गाईं, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको छ।

हटाइएका सबै नेता मिलन पाण्डे पक्षका हुन्। पाण्डेलाई भने पार्टीले यसअघि नै निलम्बन गरिसकेको छ। यसरी आफू पक्षका सबै केन्द्रीय सदस्यलाई हटाइएपछि मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध आक्रोश पोखेका हुन्।

उनले पौराणिक प्रसंग उप्काउँदै छल गरेर क्षणिक त शकुनीले पनि जितेको तर अन्तमा जित पाण्डवकै भएको उल्लेख गरेका छन्। क्षणिक जित्नु ठूलो कुरा नभएको टिप्पणी गर्दै पाण्डेल ‘आफ्नो कन्भिक्सन र विचारमा अडिनु नै महत्त्वपूर्ण कुरा भएको’ जिकिर गरेका छन्।

उनले अध्यक्ष मिश्रलाई चेतावनी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति बुझ्नुहोस् रवीन्द्र अंकल, जुन दिनबाट हामी तपाईंलाई गाली गर्न छोडिदिनेछौं, त्यो दिनबाट तपाईंको राजनीति सकिनेछ।’

प्रतिक्रिया