साउदी अरबका विदेशमन्त्री नेपालमा, यी विषयमा हुँदैछ दुई देशबीच हस्ताक्षर


काठमाडौँ – साउदी अरवका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार साँझ नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा परराष्ट्र सचिव भरतराज पौड्यालले साउदी विदेशमन्त्री नेतृत्वको २३ सदस्यीय टोलीको स्वागत गरे।

फैजल त्यहाँका राजकुमार पनि हुन्। साउदी विदेशमन्त्री २४ घण्टे भ्रमणमा नेपाल आएका हुन्। उनले आज राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दैछन्। भ्रमणमा नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए)मा हस्ताक्षर हुँदैछ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन् ।  अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया