


मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल

काठमाडाैँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। शुक्रबार गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवम् नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा मन्त्री भुसालले महँगीले दैनिक भान्सा चलाउन कठिनाइ भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताएकी हुन्।
मन्त्री भुसालले गोदावरी नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको बताइन्। सांसद नवराज सिलवालले गादावरी क्षेत्र विकास निर्माणका हिसाबले काठमाण्डौ उपत्यकाको कर्णालीका रूपमा रहेको चर्चा गर्दै यसको विकासका लागि सरकारले केही लगानी बढाउनुपर्नेमा जोड दिए।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भौगोलिक रूपमा नगरपालिका उपत्यकाकै सबैभन्दा ठूलो रहेको बताए। उनले यो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे।
उपमेयर मुना अधिकारीले एकै भवनबाट सबै सेवा दिन सुरु गरिएको बताइन्। कार्यक्रममा १४ जना वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो।
सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा निर्माण गरिएको हो। भवन निर्माणका लागि अहिलेसम्म झन्डै २५ करोड रुपैयाँ खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।

