रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो, निर्यात बढ्यो


काठमाडाैँ – आर्थिक वर्ष २०७८÷२०७९ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यास) ४ं.९ प्रतिशतले घटेको छ । राष्ट्र बैँकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स मुलुकमा भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

यस्तै राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा मुद्रास्फिती ५.९७ प्रतिशत रहेको छ । आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा छ । कूल विदेशी विनिमय सञ्चिति ९ अर्ब ७५ करोड अमेरिकी डलर छ ।

संघीय सरकारको खर्च ५९१ अर्ब २ करोड र राजस्व परिचालन ६१३ अर्ब ४१ करोड रहेको तथ्यांकमा उल्लेख छ । विस्तृत मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीन तर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल‚ सोयाविन तेल‚ पिना‚धागो (पोलिष्टर तथा अन्य)‚ जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची‚ चिया‚ जडीबुटी‚ तार‚ तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात्‌०.०१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत‚ चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: ३०.९ प्रतिशत‚ ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ‚ औषधी‚ कच्चा पाम तेल‚ कच्चा सोयाविन तेल‚ यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट‚ रासायनिक मल‚ सिमेन्ट‚ दाल‚ मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया