निर्वाचनको लागि मानसिक र शारीरिक रुपले तयार रहनु : महानिरीक्षक खनाल


काठमाडाैं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्‍न स्थानीय निर्वाचनलाई निस्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हे.क्वा.¸ श्रीअन्तु इलामको नवनिर्मीत भवनको बुधबार उद्‍घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्‍न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्‍ट ढंगले जिम्मेवारी पुरा गर्नुपर्नेसमेत बताए ।

बुधबार नै उनले नं. ३८ रिजर्भ गण हे.क्वा.लखनपुर झापाको समेत उद्घाटन गर्दै फौजको महत्वपूर्ण गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखी संगठन र राष्‍ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्‍च समर्पण भावका साथ आफ्नो जिम्‍मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए।

कोभिड-१९ नियन्त्रण र रोकथाममा संगठनले हाँसिल गरेको सफलता फिल्डमा तैनाथ राष्‍ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुहुँदैं महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्‍ट्र सेवामा समर्पित हुनुपर्ने बताए । संगठनका सकलदर्जाले देखाएको ईमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता¸ उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गरे ।

उनले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्‍चात राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महशुस गरेको उल्लेख गरे।

उनले हाम्रा राष्‍ट्रसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला देखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुले देखि दार्चुलाको छाङ्गरुसम्म तैनाथ भईरहेको र विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद पनि उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय¸ सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया