झण्डै ६ महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै, एमालेले कडा प्रतिवाद गर्ने


काठमाडौं – करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबिचमा नियुक्त भएका मन्त्री र सरकारको महत्त्वपूर्ण कामबारे संसद्मा जानकारी गराउने छन् ।

आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबिचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रूपमा प्रतिवाद गर्ने जनाएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद्मा काँग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।

विधेयक अधिवेशनमा सार्वजनिक लेखा समिति लगायतका केही प्रतिवेदन पनि पेस हुने छन् । संसद् सचिवालयमा तीन विधेयक दर्ता भएर छलफलका क्रममा छन् भने ३ विधेयक दर्ता गर्ने तयारी छ ।

बालबालिका सम्बन्धी, आमसञ्चार र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक संसद्मा छन् भने सूचनाको हक, सिँचाइ, खानेपानी तथा केही कानुन संशोधन सम्बन्धी विधेयक संसद्मा यो अधिवेशनमा लैजाने तयारी भइरहेको कानु नमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया