

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै, मापदण्ड अपनाउन आग्रह

काठमाडौं – सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताएका छन्। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।
अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम नटरेको उनले बताए।
सहप्रवक्ता अधिकारीले पछिल्ला साताहरूमा कोरोना संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको बताए। कोभिड–१९ विरुद्धको खोप अभियान तीव्र रुपमा सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी उनको दाबी छ।
आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए।
मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने सहप्रवक्ता अधिकारीले बताए।

