

जनकपुरमा गोली चल्दा १ घाइते

जनकपुरधाम – जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएको प्रहरीले जनाएको छ ।
कमला नगरपालिका-८ घर भएका मुकेश शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनीमाथि एक किराना पसलमा कुराकानी गरेर बसिरहँदा एक्कासी गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।
चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनीमाथि गोली प्रहार गरिए पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।
घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको पनि प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्नेको खोजी भइरहेको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

