राष्ट्रिय सभागृहमा माओवादीको केन्द्रीय समिति बैठक सुरु


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।  पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

 

 

प्रतिक्रिया