संसद् छोडेर किन भागिरहेछन् अर्थमन्त्री शर्मा ?


काठमाडौँ – बिहीबार प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। गत आइतबार सरकारले एमसीसी टेबुल गरेको छ र छलफलका लागि आजको बैठक तय भएको छ।

आजको संसद् बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ।

जसलाई संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ। संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नु पर्ने थियो। तर उनको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन्। अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन्। उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  एमसीसी टेबुल गरेका थिए।

आज एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन्। आइतबार एमसीसी संसदमा टेबुल गर्नुपर्ने मान्छे बिरामी भएको भनेर सहभागी भएनन् । तर, अहिले ठिक भइसकेपछि पनि उनी संसद् छोडेर किन भागिरहेका छन् ।

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ। उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएका छन्। उनले नै आज (बिहीबार) हुने पर्वत उधोग वाणिज्य संघको साधरणसभामा सहभागी हुन कुश्मा पुगेकाे फेसबुकमा लेखेर जानकारी दिएका छन्।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ। तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेका छन्।

प्रतिक्रिया