

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे साझा धारणा बन्ला ?

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बिहान (आइतबार) १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । उक्त बैठक अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (च्यालेन्ज) का विषयमा साझा धारणा बनाउन भन्दै डाकिएको हो । यसअघिका बैठकमा नेपाली कांग्रेस र सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी पार्टीबीच मत बाझिएपछि एमसीसी संसदाम टेबुल हुन सकेको छैन ।
गत शुक्रबार पनि सहमति नजुटेपछि आजको लागि बैठक डाकिएको हो । आजको बैठकलाई निर्णायक बैठक भनेर भनिएको छ ।
अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । सरकार यसैको दबाबमा छ । यहाँका राजनीतिक दलले ठोस निर्णय नगर्दा दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध नै सुरु भइसकेको छ ।
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । यो बैठकको संभावित कार्यसूचीमा एमसीसी समावेश छैन । तर, बिहान ११ः३० बजे कार्यव्यवस्था समितिको बैठक डाकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको उक्त बैठकले संसद्को कार्यसूची थपघट गर्न सक्ने छ । कार्यव्यवस्था समितिको बैठक अघि सत्ता गठबन्धनको बैठकले के निर्णय गर्छ त्यो भने महत्वका साथ हेरिएको छ ।

