प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, के भयो कुराकानी?


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ करिब ६ बजे बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको स्रोतले जनायो। एमसीसी सम्झौता अनुमोदनको विषयले सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला देउवा र बेरीबीच भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री देउवाले राजदूत बेरीसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको कुरा जानकारी गराएका थिए।

अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारगर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा समेत देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनायो।

अमेरिकाले फागुन १६ गतेसम्म एमसीसी पारित गर्न समयसीमा दिएको छ। प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बालुवाटार स्रोतले जनाएको छ।

प्रतिक्रिया