सङ्गीतकार अविरललाई एकैबेला पितृ–मातृशोक


बागलुङ – लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ । उनले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाएका छन् ।

गलकोट नगरपालिका-७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत भएपछि किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो । उनकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । श्रीमान् बितेको दुई दिनमै मष्तिष्कघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पुर्‍याइएको थियो ।

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उनलाई आइतबार घर ल्याइएको थियो । अविरलका भाइ कर्णले बुबाआमा दुवैमा उच्च रक्तचापको समस्या देखिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताए । ‘बुबाकोझैँ समस्याले आमा पनि बित्नुभयो, बचाउन सकिएन’, उनले भने । बलबहादुरको गत मङ्गलबार निधन भएको थियो ।

दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन् । दिवङ्गत चित्रकुमारीको आजै स्थानीय गौँदी घाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा, तीन छोरी र नातिनातिना छन् ।

प्रतिक्रिया