नागरिकहित रक्षा गर्न महाअभियोग ल्यायौं : कांग्रेस


काठमाडौं – नेपाली कांग्रेसले नागरिककाे न्यायिक अधिकार रक्षा गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता गरिएको स्पष्ट पारेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले न्यायालयभित्र जारी गतिरोध आन्तरिक समझदारीबाटै समाधान होस भन्ने चाहना पूरा हुन नसकेकोले महाअभियोगको विकल्प नदेखिएको ठहर गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रधान्यायाधीशमाथिको महाअभियोगबारे छलफल भएको हो । बैठकको प्रारम्भमा सरकारका प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग दर्ता भएको औपचारिक जानकारी गराएका थिए । आइतबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महाअभियोगलाई टुंगोमा पुर्याउनुपर्ने विषयमै जोड दिएको प्रवक्ता महतले बताए ।

‘लामो समयदेखि सर्वोच्च अदालतमा देखिएको गतिरोध न्यायालयभित्रकै सरोकारवावाहरुको संवाद र सहकार्यबाट समाधान होस भन्ने हाम्रो चाहना पूरा हुन सकेन । अदालतको अवरोधका कारण जनताले न्याय पाउने विषयपनि अवरुद्ध हुँदै आएको थियो । त्यसैले संवैधानिक निकास दिन प्रतिनिधिसभाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको छ । यो स्वभाविक छ’, बैठकपछि प्रवक्ता महतले भने ।

बिहीबारदेखि सुरु भएको कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको विषयमा केन्द्रीत भएको थियो ।

प्रतिक्रिया