मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी वितरण सुरु


काठमाडाैं – मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी जारी गर्न थालेको हो ।

दूतावासले राहदानी नवीकरण गर्न आएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानीको सुरुवात गरेको हो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ ।

दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ । दूतावासले सुरुवातको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने छ । दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल पनि सहभागी भएको थिए ।

कार्यक्रममा बोल्दै महानिर्देशक अर्यालले उपकरणहरू पुग्नासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएको भन्दै दूतावास र मलेसियामा कार्यरत सबै नेपालीलाई बधाई दिँदै अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र एमआरपी राहदानी जारी नहुने कुरा जानकारी गराए ।

मलेसियाका लागि कार्यवाहक राजदूत मोतीबहादुर श्रीसले सेवाग्राहीको चापलाई सहज रुपमा व्यवस्थापन हुने गरी सेवा प्रवाहको स्टेसनहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । दूतावासका अनुसार मलेसियामा २ लाखभन्दा धेरै नेपालीहरु रहेका छन् । विदेशमा रहेको नपाली नियोगहरुमा सबैभन्दा पहिला कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो ।

प्रतिक्रिया