विवेकशील साझाका संयोजक पाण्डेले दिए अध्यक्ष मिश्रविरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडाैं – विवेकशील साझा पार्टीमा जारी विवादका बीच कारबाहीमा परेका संयोजक मिलन पाण्डे अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पाण्डे निकट विवेकशील साझाका प्रवक्ता हरीश भट्टले मिश्रविरुद्ध कानुनी लडाइँ सुरु भएको जानकारी दिए ।
उनका अनुसार पाण्डेले आफूमाथि कारबाही गर्ने पार्टीको निर्णयलाई अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध पनि मुद्दा दिएका छन् । मुद्दामा गत भदौ १७ पूर्वको अवस्थाबाट पार्टी सञ्चालनका लागि परमादेशको माग गरिएको छ भने निर्वाचन आयोगले गरेको अभिलेखलाई खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ ।
यस्तै मुद्दाको अन्तिम निर्णय नभएसम्म लगत्तै हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय गर्न भदौ १७ गते पूर्वको १३० सदस्यीय केन्द्रीय समितिलाई कार्य गर्न दिनु र पार्टीका अध्यक्ष एवं संयोजक दुवैले पार्टीको विधानअनुसार पार्टी सञ्चालनका लागि परमादेश माग गरिएको छ ।
प्रवक्ता भट्टले बुधबार जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दर्तापछि पाण्डेले अदालतले विधिको शासनअनुसार फैसला आफ्नो पक्षमा गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तै आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा समेत जुटेको भट्टले जानकारी दिएका छन्।