विवेकशील साझाका अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै आज (मंगलबार) केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।
संयोजक पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेन्डामा छलफल हुने भनिएको छ ।