फेरि फुटतिर लम्कियो विवेकशील साझा, अध्यक्ष र संयोजकले बोलाए अलग–अलग बैठक


काठमाडौं– वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदय गर्ने भनी स्थापनासहित एकता, विभाजन र एकता गरेको विवेकशील साझा पार्टी फेरि फुटतिर लम्किएको छ।

अध्यक्ष रविन्द्र मिश्रको राजनीतिक अवधारणापत्र सतहमा आएपछि चर्चा र विवाद भएको थियो। मिश्रको राजनीतिक अवधारणामा धर्म सापेक्षता र जनमत संग्रहको सवाल चर्चा र विवादमा परेको थियो।

मिश्रको उक्त धारणाको विपक्षमा संयोजक मिलन पाण्डे उत्रिएका थिए। विवेकशील धारको नेतृत्व गरेका पाण्डे मिश्रको धारणाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा देखिएका थिए।

उक्त आन्तरिक विवाद अब सांगठनिक रुपमा पनि देखिएपछि विवेकशील साझा विभाजनको यात्रामा लागेको हो। अध्यक्ष मिश्र र संयोजक पाण्डेले अलग–अलग केन्द्रीय समितिको बैठक डाकेका छन्।

‘विचार र सिद्धान्तमा फरक भएपछि एकतामा बस्न कठिन हुन्छ त्यसैको प्रतिबिम्बका रुपमा अलग अलग बैठक डाकिएको छ। यी बैठकले विचार समूहलाई अलग गर्छ र अन्ततः विभाजन नै हुने हो’, स्रोतले भन्यो।

तर मिश्रले आफ्नो अवधारणापत्र दलको नभई व्यक्तिगत भएको र दलको बहुमतले त्यसलाई अस्वीकार गरे मान्न सकिने बताउँदै आएका थिए। तैपनि उक्त धारणाको कम्पनले विवेकशील साझालाई विभाजनतिर डोहोर्याएको छ।

यी दुई पार्टी स्थानीय तहको चुनावपछि एकीकरण भई पछि विभाजन भएका थिए। फेरि वैकल्पिक धार बलियो बनाउने भन्दै एकीकरण भएका थिए।

प्रतिक्रिया