कांग्रेस रुपान्तरणका लागि यस्ता छन् केन्द्रीय सदस्य मधु आचार्यले सुझाएका ११ बुँदा


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस रुपान्तरण गर्नै पर्ने अवस्थामा पुगेको भन्दै रुपान्तरणका एजेन्डाहरु प्रस्तुत गरेका छन् । आचार्यले कांग्रेस रुपान्तरण गर्न सकिने विषयलाई ११ बुँदे एजेन्डाको रुपमा प्रस्तुत गरेका हुन् ।

उनले अनलाइनबाटै फर्म भरेर कांग्रेसको सदस्य लिन पाउने व्यवस्था गर्नेदेखि पार्टीका नेताको वर्गीकरण सही तबरले गर्नुपर्ने तथा भ्रष्टाचारीलाई कारबाही गर्न पार्टी अग्रसर हुनुपर्नेसम्मका बुँदा समेटेर रुपान्तरणको प्रस्तावे पेस गरेका छन् ।

यस्ताे छ उनले पेस गरेकाे रूपान्तरणकाे बुँदा 

  •  कांग्रेसको विधानअनुसार अनलाइनबाट समेत अप्लाइ गर्न पाउनेगरी पार्टी सदस्यता वितरण तत्काल खुला गरौं।
  • घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाऔं।
  • पार्टी विभागमा रहने व्यक्तिहरु बारे निश्चित मापदण्ड बनाएर (सही व्यक्तिलाई सही स्थान हुनेगरी) विधानमा तोकिएअनुसार ६ महिनाभित्रै ‘अर्थपूर्ण/परिणामदायी विभाग’ गठन गर्न तत्काल गृहकार्य सुरु गरौं।
  •  टोल समितिदेखि केन्द्रीय समितिसम्मलाई तत्काल पूर्णता दिलाऔं र उनीहरूको मासिक बैठक नियमित गराऔं। सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमन समेतको व्यवस्था मिलाऔं।
  •  नेपालको परिप्रेक्ष्यमा प्रजातान्त्रिक समाजवाद/सामाजिक लोकतन्त्रको सान्दर्भिक परिभाषा र कार्यक्रम तय गरौं। जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने आर्थिक सामाजिक उत्थानका ठोस नीति, योजना र कार्यक्रमहरू निर्धारण गरौं। परिणाम देखिनेगरी कार्यान्वयन सुरु गरौं।
  • भात्तृ-शुभेच्छु संस्थाहरूको विधानलाई पार्टी विधानअनुरूप लयवद्ध गराई प्रत्येक वडा तहमा प्रत्येक संस्थाको संरचना निर्माण गराई हालौं र समयवद्ध अनिवार्य महाधिवेशन गर्न लगाऔं।
  • पार्टीभित्र घात-अन्तर्घातको रोग निदानका सन्दर्भमा न्यायपूर्ण मूल्यांकन पद्धति र कठोर अनुशासन प्रणाली अवलम्बन गरौं।
  • आसन, भाषणलाई व्यवस्थित र एकरूपता प्रदान गर्न पार्टीभित्रका साथीहरूको वरियताक्रम (हाइरार्की) निर्धारण सम्बन्धमा वैज्ञानिक मापदण्ड निर्माण गरौं। र सबै जिल्लालाई सोहीअनुरूप गर्न, गराउन परिपत्र गरौं।
  • पार्टीको नीति अधिवेशन आयोजनको तयारी गरौं र पारित नीति, कार्यक्रमको जगमा भावि निर्वाचन घोषणापत्र तयार गरौं।
  •  विधानअनुसार पार्टी र संविधानअनुसार सरकार संचालन गरौं। कानूनी राज्य र सुशासनलाई सुनिश्चित गरौं।
  •  चर्चित सबै भ्रष्टाचार काण्ड, सेटीङ्ग काण्डको छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाऔं। भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्व गरौं।

प्रतिक्रिया