

नेपाल, खनाल र श्रेष्ठ घरमै लिन जाँदा पनि बामदेव गौतम मान्दै मानेनन्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत नपुगेपछि उपाध्यक्ष बामदेव गौतमलाई फकाइएको छ।
उनलाई बैठकमा आउनका लागि अनुरोध गर्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए। तर कुनै पनि गुटको भेला र बैठकमा सहभागी नहुने घोषणा गरेका गौतमले भने एकता जोगाउनका लागि सुझाव दिए। उनी बैठकमा जान मानेनन्।
त्यसअघि बहुमत पुराउनका निम्ति सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल फकाउन प्रचण्ड आफैं पुल्चोक पुगेका थिए। बादलले पनि आफू सहभागी नहुने जवाफ दिएका थिए।
यसैबीच गौतम र थापा अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समितिको बैठकमा पनि उपस्थित भएनन्। मंगलबार दिउँसो कार्की पार्टी प्यालेसमा हुने बैठकमा पनि उनीहरू नजाने भएका हुन्।

