
‘गठबन्धनको सिन्डिकेट तोड्न अब एमालेको नेतृत्वमा सडक आन्दोलन’
काठमाडाैँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने बताएका छन्।
शनिवार रौतहटको करुनियामा आयोजित नेकपा एमालेको देवाही गोनाही नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साहले गठबन्धनको सिन्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलनबाहेक विकल्प नरहेको बताएका हुन्।
जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार र लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए।
‘अहिले तपाईँहरु देख्नसक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र झालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन गठबन्धन सरकार जन्मिएको छ। यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट-आतंकलाई बढावा दिएको छ’, उनले भने, ‘खुलेआम कालोबजारी मौलाएको छ। महङ्गी बढेको छ। जसले गरीब मजदुर किसानको जीवनलाई झन् कष्टकर बनाउँदै गएको छ। विकास निर्माण ठप्प भएको छ। गठबन्धनले बढाएको विकृति रोक्दै विकास अगाडि बढाउन आन्दोलनको विकल्प छैन।’
गठबन्धन सरकारले कानुनको उलंघन गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको पनि उनले बताए। ‘यसलाई विफल बनाएर समयमा निर्वाचन गर्न आन्दोलन जरुरी छ। सत्ता उन्मादमा मातिएका सरकारका मन्त्रीहरुको बोलीमा लगाम छैन, यस्ता अपराधी मन्त्रीलाई कुर्सीबाट हटाउन आन्दोलन जरुरी छ,’ उनले थपे, ‘लोकतान्त्रिक प्रक्रियालाई सही ट्र्याकमा ल्याउन आन्दोलन जरुरी छ।’
गठबन्धनको कुकर्म बढ्दै गएको बताउँदै साहले राजनीतिक संकट रोक्न अब जनता सडकमा उत्रिनैपर्ने जिकिर गरे। ‘यसको विकल्प छैन। दलाल गठबन्धनको सिण्डिकेटविरुद्धको आन्दोलनको अगुवाइ एमालेले गरेर देशलाई ट्र्याकमा ल्याउँछ।’



कागजपत्र |
