गण्डकीमा सात हजारभन्दा बढी सक्रिय संक्रमित, ९९ प्रतिशत होम आइसोलेसनमा, ९१ प्रतिशत शय्या खाली


पर्वत – गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमित भएकाहरूको संख्या सात हजार नाघेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार प्रदेशभर कुल सक्रिय संक्रमितहरूको संख्या सात हजार २६२ रहेको छ।

यस अगाडिका लहरमा कडा लक्षणसहित स्वास्थ्य नै गम्भीर बन्ने गरेका कारण धेरै संक्रमित अस्पताल तथा सामुदायिक आइसोलेसनमा बसेका थिए। अहिलेको लहरमा भने ९९ प्रतिशत संक्रमित घरमै बसेको निर्देशनालयको तथ्यांकबाट देखिन्छ।

संयोजक शर्माका अनुसार सात हजार १७३ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै‚ संस्थागत आइसोलेसनमा ७६ जना, आइसियुमा ११ जना र भेन्टिलेटरमा दुई जना रहेका छन्।

होम आइसोलेसनमा रहेकामध्ये गोरखाका २८७, मनाङका एक, मुस्ताङका ६, म्याग्दीका ३००, कास्कीका तीन हजार ३७५, लमजुङका ४४४, तनहुँका ६६८ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ४८८, स्याङ्जाका ९९१, पर्वतका २१२ र बागलुङका ४०१ जना रहेका छन्।

संस्थागत आइसोलेसनमा गोरखाका दुई, मुस्ताङका तीन, म्याग्दीका एक, कास्कीका ४७, लमजुङका पाँच, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का पाँच, स्याङ्जाका दुई, पर्वतका चार र बागलुङका सात जना छन्। आइसियुमा उपचाररत ११ जना र भेन्टिलेटरमा राखिएका दुई जना कास्कीको पोखराका विभिन्न अस्पतालहरूमा राखिएका छन्।

अस्पतालका ९१ प्रतिशत शय्या खाली

निर्देशनालयका अनुसार ११ जिल्ला रहेको प्रदेशका सरकारी र निजीमा गरी कुल एक हजार ३५ वटा शय्या छन्। सक्रिय संक्रमितहरूले होम आइसोलेसनमै रहेकाले अस्पतालका शय्या खाली रहेका छन्। जबकि‚ यस अगाडिका कोरोना लहरमा अस्पतालका शय्या भरिँदा सामुदायिक रूपमा समेत कोरोनाका अस्थायी अस्पतालहरू स्थापना गरिएका थिए।

कार्यसञ्चालन केन्द्रका संयोजक शर्माका अनुसार प्रदेशमा ४८७ साधारण शय्या रहेकोमा ३६ वटामा मात्रै बिरामी राखिएका छन्। एचडियु शय्या ३१३ रहेकोमा ४० वटा मात्रै प्रयोगमा रहेका छन्। यस्तै १६६ वटा आइसियु शय्यामध्ये ११ म तथा ६९ ओटा भेन्टिलेटर शय्यामध्ये दुईवटामा मात्रै बिरामी राखिएका छन्।

यो तथ्यांकअनुसार प्रदेशमा साधारण शय्या ४५१ ओटा, एचडियु २७३, आइसियु १५५ र भेन्टिलेटर ६७ वटा शय्या खाली छन्। यो अनुसार भएका कुल बेडमध्ये नौ प्रतिशत मात्रै प्रयोगमा रहेका छन् भने ९१ प्रतिशत खाली छन्।

प्रतिक्रिया