
महोत्तरीमा कोरोना माहामारीको तेस्रो लहरमा १६६ संक्रमित, एकजनाको मृत्यु
File Photo
महोत्तरी – कोरोना भाइरसको तेस्रो लहरमा महोत्तरीमा १६६ जना संक्रमित भएका छन्। त्यस्तै एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।
स्वास्थ्य कार्यालय महोत्तरीको अनुसार स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन।
तेस्रो लहरमा अहिलेसम्म महोत्तरीमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन्।
भाइरसको दोस्रो लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित बनेका थिए।
तेस्रो लहरमा संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित होमआइसोलेसनमा रहेको उनले बताइन्।
स्वास्थ्य कार्यालय महोत्तरीले खोप अभियानलाईसमेत तीव्र बनाएको छ। दैनिक ४८ सय ६७ जनाले पहिलो र दोस्रो खोप लिइरहेको कोभिड फोकल पर्सन सिंहले जानकारी दिइन्।
आगामी चैतभित्र खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ।



कागजपत्र |
