
युक्रेनमा हमला गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी
एजेन्सी – संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ। नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो।
बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए। पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।
अमेरिकाको चेतावनी
रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ। तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ।
अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, ‘म एकदमै प्रस्ट भन्न चाहन्छुस यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।’ तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।
विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए। अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।
संसद्मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्। तर उनले आफूले मस्कोसँग संवाद चाहेको पनि उल्लेख गरेकी छन्।
अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्। संयुक्त राज्य अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ।
विदेश मन्त्रालयकी एक जना अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन्। उनले कूटनीतिक समाधानको पक्षमा पश्चिमा देशहरू एक ठाउँमा रहेको भए पनि रुसले सैन्य कदम चाले तत्कालै कठोर मूल्य चुकाउनुपर्ने बताइन्। राष्ट्रपति पुटिनले युक्रेनबारेका मस्कोका मागप्रति वासिङ्टनको प्रतिक्रियाबारे विचार गरिरहेका छन्।
अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सोमबार छलफल गरिओस् भन्ने माग गरेको छ।



कागजपत्र |
