डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित


काठमाडौं – कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २–१ अन्तरले पराजित गरेको छ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै अर्जेन्टिनाले आठौं जित निकाल्यो।

खेलको नवौँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए। बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो। तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन्।

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १–१ गोलको बराबर खेल्दै अंक बाँडेका छन्। ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन्।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ। जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ।

इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ।

प्रतिक्रिया