

५० लाख ठगी मुद्धामा साङ्ग्रिला डेभलपमेण्टका बैंक म्यानेजर पक्राउ

घोराही – दाङको घोराहीमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंकका म्यानेजर सुदर्शन विष्ट ठगी आरोपमा प्रहरी अनुसन्धानमा तानिएका छन्। ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा म्यानेजर विष्टलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएर सोधखोज थालेको हो।
उनी अर्का ठगी आरोपमा समातिएका विकास पुनको मुद्दामा जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको सो बैंकका म्यानेजर विष्टमाथि अनुसन्धान थालेको हो। ‘विकास पुनसँग जोडिएर रकम भुक्तानीमा मिलेमतो देखिएपछि उहाँमाथि अनुसन्धान भइरहेको छ’, काफ्लेले भने, ‘अनुसन्धानका लागि बोलाएर सोधखोज गरेका छौँ।’
ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानमा देखिएकाले उनीमाथि छानबिन थालिए जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। विष्टमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लामो समयदेखि ठगेर फरार पुनलाई केही दिनअघि सीआईबीको टोलीले काठमाडौंमा पक्राउ गरेको थियो। पुन अहिले दाङ प्रहरीको हिरासतमा छन्। काफ्लेले अहिलेसम्मको अनुसन्धानबाट विष्टको लिङ्क विकास पुनसँग देखिएको छ। उक्त बैंकबाट कारोबार गरेको पनि देखिएको काफ्लेले बताए।

