

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

जुम्ला – जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ ।
जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले यहाँका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ रिजालले बताए।
जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भने, ‘१५ हजार ट्याब्लेट यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ ।’ जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाले बताए ।

