रुससँग लड्न युक्रेनलाई अत्याधुनिक हतियार पठाउँदै बेलायत


काठमाडौँ – बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई उसको सुरक्षाको लागि हतियार पठाउने तयारी भइरहेको बताएका छन्। रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेसँगै छोटो दूरीको एन्टि ट्यांक मिसाइल युक्रेनलाई दिने तयारी भएको वालेसले बताएका छन्।

त्यस्तै युक्रेनको सुरक्षाको लागि सानो संख्यामा सैनिकहरु पनि पठाइने वालेसको भनाइ छ। उनले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने विषयमा गम्भीर हुनुपर्ने उल्लेख गरेका छन्।
यद्यपि रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।

सन् २०१५ यता एक दर्जनभन्दा धेरै बेलायती सैनिक युक्रेनमा रहँदै आएका छन्। उनीहरुले युक्रेनका सैनिकलाई प्रशिक्षण दिँदै आएका छन्। साथै बेलायतले युक्रेनको जलसेना स्थापनाको लागि पनि सहयोग गर्ने बताउँदै आएको छ।

वालेसले अहिले युक्रेनलाई थप सुरक्षा प्रदान गर्न लागिएको बताएका हुन्। रुसको पछिल्लो गतिविधिले निकै जोखिम बढाएको बेलायतको बुझाइ छ।

अहिले दिन लागिएको हतियार छोटो दूरीको र आफ्नो सुरक्षाको लागि प्रयोग हुने किसिमको हतियार भएको वालेसले स्पष्ट पारेका छन्। रुसले युक्रेनको सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेसँगै उसको पश्चिमा मुलुकसँगको तनाव बढेको छ।

प्रतिक्रिया